
नेपाली मौलिक संगीतमा आधारित एक नयाँ देउडा गीत ‘ए आयुषकी माँए सार्वजनिक भएको छ, जसले श्रीमान्–श्रीमतीबीचको प्रेम, विश्वास, तिक्तता र पारिवारिक सम्बन्धको उतारचढावलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।
गायक,सर्जक र अभिनेता तारा भण्डारीको पहिलो देउडा गीतको रुपमा सार्वजनिक भएको यो गीतले सुदूरपश्चिमको संस्कृति मात्र होइन, नेपाली समाजमा श्रीमान्–श्रीमतीबीचको भावनात्मक सम्बन्ध र गलतफहमीकै कारण आउने दरारलाई कलात्मक रूपमा देखाएको छ।
गीतमा तारा भण्डारी आयुषका बा सारा भण्डारी आयुषकी माँए को प्रमुख भूमिका रहेको छ भने साथमा विपना सुनारले अभिनयमार्फत द्वन्द्व सिर्जना गराएकी छन्। कथा यस्तो छ जहाँ एक युवक श्रीमतीप्रतिको विश्वास गुमाउँछन्, परिस्थिति यस्तो बन्छ कि दुईबीच दूरी पैदा हुन्छ, र त्यो दूरी एक सन्तानको भविष्यमा समेत असर पार्न थाल्छ। यही पृष्ठभूमिमा तयार गरिएको गीतले घरपरिवारभित्र हुने भावनात्मक दरार, सन्देह र एक–अर्काको भावना बुझ्न नसक्दा आइपर्ने समस्यालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।
गीतमा तारा भण्डारी र गौरी भट्टको स्वर छ भने शब्द, लय र संगीत तारा भण्डारीकै हो। रुपा शिलालको निर्देशन, हिमराज पार्कीको छायांकन र सोनु बि.क को सम्पादनमा तयार भएको यो भिडियोले ग्रामीण परिवेशको यथार्थ जीवनशैलीलाई पनि समेटेको छ। श्रीमान्–श्रीमतीबीचको नाजुक सम्बन्ध, पारिवारिक आरोप–प्रत्यारोप, र बालकको आँखाबाट देखिएको संसार यो गीतको केन्द्रविन्दु हो।
पोस्टरमै देखिएझैं, भावनात्मक संवाद, मातृत्व भावले ओतप्रोत दृश्यहरू र गाउँघरको मौलिकपनाले गीतलाई अझ सशक्त बनाएको छ। गीतले हाम्रो समाजमा यस्ता समस्या कति सामान्य छन् तर त्यसको असर कति गहिरो पर्छ भन्ने कुरामा गहिरो प्रश्न उठाएको छ।
हालै मात्र युट्युबमार्फत सार्वजनिक गरिएको यो गीतले छोटो समयमा नै लाखौं दर्शकको मन छोएको छ। धेरैले कमेन्टमा यसलाई “आजको यथार्थ”, “मन छुने कथा”, र “कसैको जीवनसँग मेल खाने गीत” भनेर प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया