धनगढीः बैतडीमा जिप दुर्घटनामा ज्यान गुमाएका बझाङको केदारस्युँ गाउँपालिकाका ६ जनाका परिवारलाई आर्थिक सहयोग गरिएको छ।
बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ को झौलेक मोडमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई बुङ्गलका म्याक्स क्षेत्रीले आर्थिक सहयोग गरेका हुन्।
क्षेत्रीले किरिया खर्च तथा अन्य खर्चको व्यवस्थापन होस् भनेर शनिवार २० हजार सहयोग गरे। काठमाडौँमा व्यापार गर्दै आएका क्षेत्रीले सहयोगीमार्फत सहयोग पुर्याएका हुन्। उनी सामाजिक कार्यमा अग्रसर हुने युवा व्यवसायी हुन्।
नयाँ वर्ष तथा बिसुुका लागि भारतको पिथौरागणबाट घर फर्किरहेका उनीहरूको चैत्र २८ गते झुलाघाटबाट बझाङको बाग्थलातर्फ आउँदै गरेको से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा मुत्यु भएको थियो।
यसअघि केदारस्युँ गाउँपालिकाले पनि किरिया खर्च स्वरुप ३५ हजारका दरले मृतक ६ जनाका परिवारलाई आर्थिक सहयोग गरेकोे थियो। सवारीधनीले मृतकका परिवारलाई ५ लाखका दरले क्षतिपूर्ति दिने भएको छ।
मृत्यु हुनेमा बझाङको केदारस्यू गाउँपालिकाका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन्। मृत्यु हनेहरु सबै एकै गाउँका रहेका छन्। जिपमा सवार रहेका ५ जना सकुसल रहेका थिए। जिप सडकबाट खस्ने क्रममा सडकमै हाम फालेका पाँचै जना सकुसल रहेको थिए। जिप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।
प्रतिक्रिया