काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ । त्यसका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले केही समस्या नदेखिए सोमबार नतिजा सार्वजनिक हुने बताउनुभएको छ । हिजो बसेको बोर्ड बैठकले नतिजाको ‘डमी’ हेरेको पनि उहाँले जानकारी दिनुभएको छ ।
बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकन गरिएको छ । परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थीले सहभागी हुन आवेदन दिएका थिए ।
बोर्डले गत पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको थियो । तर, परीक्षा व्यवस्थित नहुँदा नतिजा सार्वजनिक हुन सकेको थिएन ।
देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । कक्षा १२ को परीक्षामा सहभागी हुने सबै विद्यालयमा होमसेन्टर कायम गरिएको थियो ।
कारोनाका कारण स्थगित गरिएको परीक्षा ९ मंसिरदेखि स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरेर सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया