बाजुरा — अछाम जिल्लाको बन्दले धनगढी बाट बाजुरा आउने यात्रुहरूलाई समस्या भएको छ । चैत १९ गते साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएका २६ वर्षिया हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौमा चैत २४ गते मृत्यु भएपछि आफन्तहरूले ४ दिनदेखि सडक सहित बजार ठप्प पारेका छन् ।
कुँवरलाई ठक्कर दिने सुप्रप ०१–००१ ख ३१५४ नम्वरका गाडी चालकलाई कारवाहि र मृतकका श्रीमती र दुई छोरीको जिम्मा लिनु पर्ने मागसहित अछाममा यातायात ठप्प पारेपछि बाजुराबाट धनगढी र धनगढी बाट बाजुरा आउने यात्रुहरूलाई समस्या भएको छ ।
धनगढीबाट बाजुरा आएका सयौ यात्रुहरू अछामको चौखुट्टेमा अलपत्र परेको बाजुराका कर्णबहादुर महतले बताएका छन् ।धनगढीबाट आएको २ दिन भयो चौखुट्टेमा सयौं जना यात्रु अलपत्र छौ, गाडी खुल्ने नखुल्ने अत्तोपत्तो छैन् महतले भने ।
यता बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बाजुराभित्र आउने र जिल्ला बाहिर जाने यात्रुहरूको आवागमन सहज बनाउन समन्वय गरिरहेको बताएका छन् ।
प्रतिक्रिया