टंक प्रसाद रिमाल_अछामको ढकारी गाउँपालिका–२, साविकको हिच्मा गाविसको मध्य भागमा रहेको ऐतिहासिक बडिरुख चौतारी र यससँगै जोडिएको जाल्पा देवी मन्दिर आज पनि स्थानीयको आशा, आस्था र आत्मीयताको केन्द्र बिन्दु बनेको छ । प्राकृतिक सौन्दर्यले सजिएको, शिलाले निर्मित सो चौतारी र धार्मिक भावनाले पूरिपूर्ण भरिएको मन्दिर वर्षौं देखि हिच्माका जनताको सामूहिक स्मृति र संस्कारको प्रतीक रहि आएको छ।
चौतारीको विशाल बर रूखको छायाँमा थुप्रै पुस्ताले विश्राम लिएका छन । विद्यार्थीका कलिला पाइला विद्यालयतिर लाग्दा, शिक्षकले शिक्षाको दीप जलाउँदा, बिरामी र कुरुवाले थकाइ मार्दा र बटुवाहरूले बाटो विराउँदै आराम लिँदा यही चौतारी साक्षी बनेको छ । त्यतिमात्र होइन, प्रत्येक सार्वजनिक सभा, चुनावी कार्यक्रम, सामुदायिक भेला र सांस्कृतिक समारोहको मुटु यही चौतारी बन्दै आएको छ।
तर अहिले, हिच्माको यस गहनाले जति श्रद्धा बटुलेको छ, त्यो अनुसारको संरक्षण भने पाउन सकेको छैन । पत्थरहरूले उठाइएको भित्ताहरू भत्किन थालेका छन । मन्दिरको संरचना जीर्ण छ र त्यो सिङ्गो ऐतिहासिक सम्पदा पुनर्निर्माणको गम्भीर पर्खाइमा छ । चौतारी विना मन्दिर अपूरो देखिन्छ, मन्दिर विना चौतारी अधुरो । यो संयोजन हिच्माको पहिचान मात्र होइन, यहाँको ऐतिहासिकता, सामुदायिक चेतना र सामाजिक सम्बन्धको जड हो।
यस सुन्दर थलोको पुनरुत्थान आवश्यक मात्र होइन, अनिवार्य छ । यहाँको सौन्दर्यलाई संरक्षण गर्न सके हिच्माको मुटु फेरि नयाँ जोगिएर धडकिन थाल्नेछ । यो स्थललाई व्यवस्थित गरी सांस्कृतिक पर्यटनको प्रवर्द्धन गर्न सकिने अपार सम्भावना छ । सरकारका सम्बन्धित निकाय, स्थानीय तह, सरोकारवाला निकायको चासो र समुदायको सक्रिय सहभागिताले यस गहनालाई नयाँ रूप दिन सक्नेछ ।
अब समय आएको छ, हामीले सामूहिक संकल्पका साथ भन्नु पर्नेछ— हामी हाम्रो चौतारी र मन्दिर जोगाउँछौं । हामी हाम्रो इतिहास साक्षात गर्ने ठाउँलाई सुन्दर बनाउँछौं ।
प्रतिक्रिया