Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

युवा किन विदेशिए,रोक्न के गर्ने

अछाम टुडे by अछाम टुडे
अप्रिल 18, 2025
in विशेष
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

विनोद शाही ठकुरी

युवालाई परिभाषित र सैद्धान्तिक हिसाबले हेर्दा यो जीवनको सबैभन्दा ऊर्जाशील, गतिशील र कर्मशील समय हो।मानिस युवा अवस्थामा आइपुग्न शारीरिक, मानसिक एवं संवेगात्मक विकास उत्कर्षको चरणमा पुगेको हुनुपर्छ।

युवा भन्नासाथ स्वस्थ शरीर, मस्तिष्कमा विचार, मनमा सपना र ती सपना साकार पार्न सक्ने लगनशील क्षमताका साथै जोस र जाँगर भएको सम्झनुपर्छ। सुसंस्कृत सबल युवा हुनका लागि उमेरका साथसाथै शारीरिक एवं मानसिक रूपले स्वास्थ्यमा तन्दुरूस्त र सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक वातावरणमा समेत समुन्नत हुनु जरूरी छ।

नेपालको सन्दर्भमा राष्ट्रिय युवा निति २०७२ अनुसार १६ देखि ४० वर्ष उमेर समूहलाई युवा भनिन्छ। युवाको उमेर अधिकांश देशमा १५ देखि ३५ वर्षका बीचमा कायम गरिएको पाइए पनि संयुक्त राष्ट्र संघ र विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेका छन्।

नेपालको सन्दर्भमा नेपालको अन्तरिम संविधानले १५ देखि २९ वर्षको उमेर समूहलाई युवा भनेर परिभाषित गरेकोमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानेको छ।

२०७८ को जनगणनाअनुसार कुल जनसंख्यामा युवा संख्या ४२.५६ प्रतिशत हुन आउँछ। युवावर्ग घर परिवार, समाज, राष्ट्र र विश्वका मेरूदण्ड भएकाले देशको कुल गार्हस्थ्य उत्पादन, आर्थिक वृद्धि तथा विकास, सामाजिक तथा साँस्कृतिक विकास र पर्यटन प्रबर्द्धनमा युवाहरूको महत्त्वपूर्ण भूमिका हुन्छ।

नेपालमा भएका युगान्तकारी परिवर्तनहरूमा युवाको सार्थक सहभागिता रहने गरेको छ। मुलुकमा हजारौं युवाले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि जीवनको बलिदान दिएका छन्। तसर्थ युवाको योगदान, सङ्घर्ष र सहभागिता राज्यका हरेक क्षेत्रमा चुनौती सामना गर्ने कार्यमा महत्त्वपूर्ण छ। करिब १ करोड २४ लाखको संख्या युवाशक्ति रहेको नेपालबाट बर्सेनि लाखौं संख्यामा युवा रोजगारीका लागि विदेशिएका छन्। लाखौंको संख्यामा युवा वैदेशिक रोजगार, उच्च शिक्षालगायत भविष्यको सुनौलो सपनाको खोजीमा विदेश गइरहेको तथ्यांक हामीसामु छन्।

विश्वका जुनसुकै देशमा मानिसहरू आवतजावत त निरन्तर प्रक्रिया हो तर कतिपय युवाहरू विदेशमा नै पलायन भइरहेको अवस्था छ। नेपालबाट वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा १११ र व्यक्तिगत रूपमा १७८ देशमा जान सकिने व्यवस्था छ । अहिलेको द्वन्द्वग्रस्त रुस, युक्रेनदेखि आन्तरिक युद्धले ग्रसित सिरिया, सोमालिया, सुडानलगायत देशमा पनि नेपाली श्रमिक पुगेका छन्। दैनिक दुई हजारको हाराहारीमा युवा विदेशिने गरेका छन्। तर दैनिक एक हजार दुई सय युवा पनि नेपाल फर्किरहेको तथ्यांकले देखाउँछ।

आर्थिक वर्ष २०७९-८० मा ७ लाख ७१ हजार ३२७ (६ लाख ९९ हजार १९३ पुरुष र ७२ हजार १३४ महिला) ले १४४ देशका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । यीमध्ये ४ लाख ९४ हजार २२४ (४ लाख ४० हजार ७२४ पुरुष र ५३ हजार ५०० महिला) ले नयाँ श्रम स्वीकृति लिएका थिए। वैदेशिक रोजगारीका सिलसिलामा नेपाली युवा विश्वका १ सय ४४ मुलुकमा छन्।

अहिले पनि रोजगारी र उच्च शिक्षाको खोजीका लागि विदेशिने क्रम रोकिएको छैन।

रोजगारीका लागि सरकारले धेरै मुलुक खुला गरे पनि हालसम्म ११ मुलुकसँग मात्रै श्रम सम्झौता गरेको छ । भारततर्फको खुला सिमानामा त झन् बर्सेनि लाखौं युवा मजदुरीका लागि भारतका विभिन्न सहरहरूमा निम्नस्तरको काम गर्न गइरहेका छन्। विदेशी बजारमा सस्तो मूल्यमा श्रम बेच्न बाध्य युवा वैदेशिक रोजगारका नाममा ठगिएका पनि छन्। नेपाली युवाको श्रम र पैसा दुवै बाहिरिइरहेको छ। हाम्रा मुलुकका करिब ७० देखि ८० प्रतिशत युवा जनशक्ति बाहिरिइरहेको अवस्था छ ।

नेपालमा नै रहेका युवाहरू पनि रोजगारी र जीवनयापनका लागि आयआर्जन गर्न सहरका  गल्लीगल्लीमा भौँतारिँदै हिँड्नु परिरहेको अवस्था छ। नेपालमै राम्रो जागिर खाइरहेका र उच्च शिक्षा हासिल गरिसकेकाहरू पनि विदेश जाने क्रम चलेको देखिन्छ। साथै स्वदेशमै रोजगारीको अवसर नपाउँदा पनि युवाहरूमा आक्रोश छ। रोजगारी सिर्जना गरी युवाका आक्रोश हल गर्ने चुनौती हामीसामु छ।

जल, जमिन र जंगललाई अधिकतम सदुपयोग गर्दै जलविद्युत् तथा पर्यटनका क्षेत्रमा लगानी वृद्धि गरी त्यसबाट आउने प्रतिफलले देशलाई समृद्धउन्मुख बनाउन सकिन्छ।

स्वदेशमै केही गरौं भन्ने युवाहरूको सोच भए पनि अवसर पाएका छैनन्। कृषि, पशुपालन क्षेत्रतर्फ आकर्षित युवाहरू पनि स्रोत तथा साधनको अभावमा छन्। उत्पादनपछि बजारको अभाव, सञ्चय गर्ने प्रविधिको अभाव र राज्यको नीतिका कारण धेरै समस्या झेलिरहेका छन्।

खाडी मुलुकमा श्रम गरेका भरमा युवाहरूले परिवार पाल्नुपर्ने अवस्था छ। नेपाल सरकारसमेत रेमिट्यान्सको भर परिरहेको छ। निजी क्षेत्रमा काम गर्न युवाहरूमा उत्साह र आकर्षण छैन। नेपाली संस्कृति, परम्पराको उत्कृष्टतामा नरमाएर युवाहरू विदेशमा नै जानुपर्ने वातावरण छ ।

नेपाली युवालाई सबल, सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउनका लागि नेपालमा नीतिगत स्तरमा व्यवस्थाहरू भए पनि त्यसको कार्यान्वयन पक्ष भने कमजोर छ।

राष्ट्रिय युवा नीति २०७२ को संघीयतापश्चात् परिमार्जन नभइरहेको अवस्थामा नीति नियमहरूलाई परिमार्जन गर्दै लगेर आधुनिक वैज्ञानिक तरिकाले समायानुकूल तयार हुनको लागि मस्यौदा तयारी भएर नीति पारित हुने अवस्थामा छ, जुन कार्य अगाडि बढिरहेको छ।

नेपालको संविधान २०७२ र नेपाल सरकारको राष्ट्रिय युवा नीति २०७२, युथ भिजन २०२५, राष्ट्रिय युवा परिषद् ऐन २०७२ ले युवाका आधारभूत अधिकारको प्रत्याभूति गर्दै सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै उनीहरूको नीति निर्माणदेखि कार्यान्वयन तहसम्म सार्थक सहभागिता र नेतृत्व क्षमताको विकासमार्फत सामर्थ्यवान्, उद्यमशील, सिर्जनशील तथा वैज्ञानिक एवं सकारात्मक सोचयुक्त सुसंस्कृत युवा तयार गर्नुपर्ने अवस्था आएको छ।  

‘युथभिजन–२०२५ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ। संयुक्त राष्ट्रसंघको १७ डिसेम्बर १९९९ मा सम्पन्न ५४औं साधारणसभाले अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।

युवालाई अधिकार मात्र होइन, कर्तव्यप्रति पनि उत्तिकै सचेत र जिम्मेवार बनाउनुपर्छ। दिवस मनाउन मात्रका निमित्त नभई राष्ट्र र राष्ट्रियताप्रति सजग तथा समर्पित भई सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्नमा तन, मन र वचनले लाग्न प्रेरित गर्नु नै दिवसको सार्थकता हुनेछ।

युवा दिवस मूल रूपमा युवाका मुद्दाका पक्षमा आवाज मुखरित गर्नु, बनेका राष्ट्रिय अन्तर्राष्ट्रिय संवैधानिक व्यवस्था, ऐन, कानुन तथा घोषणापत्र कार्यान्वय गर्नु, नभएकालाई बनाउनु र आवश्यकताअनुसार समयसापेक्ष संशोधन गर्न वकालत गर्नु नै मुख्य उद्देश्य हो।

संयुक्त राष्ट्र संघको घोषणासँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जात्मक र उद्यमशीलताका कार्यक्रम आयोजना गरी युवा दिवस मनाइँदै आइरहेको छ। हाम्रो नेपालमा भने सन् २००४ देखि युवा दिवसलाई मनाउन थालिएको हो। प्राप्त उपलब्धिको रक्षा, सवाल तथा मुद्दाहरूको यथोचित सम्बोधन तथा चुनौतीहरूको सामना गरी विश्व परिवेश तथा नेपालअनुकूल हुने गरी युवालाई राष्ट्रिय तथा सामाजिक अभियानहरूमा स्वयंसेवकका रूपमा व्यापक परिचालन गर्नुपर्छ ।

यसका अतिरिक्त युवालक्षित मुद्दा तथा सवालहरू कार्यान्वयन गर्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक दबाब सिर्जना गर्नु पनि हो। युवाका सवालहरूमा विश्वका विभिन्न देशका सरकार तथा सरोकारवालालाई सचेत र जागरूक गराउन दिवसको घोषणा गरिएको हो।

गत वर्ष १२ अगस्त २०२४ मा अन्तराष्ट्रिय युवा दिवसमा  Main theme From Clicks to Progress: Youth Digital Pathways for Sustainable Development रहेको थियो। १२ अगस्त २०२५ को अन्तर्राष्ट्रिय युवा दिवसका लागि Main Theme – ” Youth Empowerment for a Sustainable Future  दिगो भविष्यको लागि युवा सशक्तिकरण रहेको छ।

यस युगमा ऊर्जाशील र प्रतिभावान् युवाहरू आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक परिवर्तनमा अग्र दस्तामा रही सबल, प्रतिस्पर्धी र आत्मनिर्भरतातिर अघि बढिरहेका छन्। देशको प्रतिकूल राजनीतिक अवस्थालाई स्थायित्व दिन जरूरी छ।

राजनीतिक अनुकूलता र स्थिरता रहेको अवस्थामा युवाको सक्षम नेतृत्वको आवश्यकता छ। राज्यका हरेक अंगमा सार्थक सहभागिता सुनिश्चित गरी नेपाललाई आधुनिक, न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउन अर्थपूर्ण र क्रियाशील रूपमा लाग्नुपर्ने जिम्मेवारी आएको छ। युवाहरू बौद्धिक, सिर्जनशील, सीपयुक्त उद्यमी र जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी अध्ययन, रोजगार, जीविकोपार्जन र अवसरका निमित्त लाग्नु टड्कारो आवश्यकता छ।

निर्वाचन आयोगको तथ्यांकले स्थानीय तहमा निर्वाचित १६ देखि ४० वर्ष उमेर समूहका युवाहरूको संख्या १३ हजार ८ सय ९३ अर्थात् ३९.६५ प्रतिशत रहेको देखाउँछ। त्यस्तै प्रदेश तहमा २३.६३ प्रतिशत, प्रतिनिधि सभामा १३.९ प्रतिशत र राष्ट्रिय सभामा ६.७७ प्रतिशत रहेको पाइन्छ।

२००७ सालदेखि अहिलेसम्मका परिवर्तनको मसिनो ढंगले अनुसन्धान र सुक्ष्म विश्लेषण गर्ने हो भने युवाको विगत जति कष्टप्रद थियो, वर्तमान पनि उत्तिकै निसास्सिँदो र भविष्य झनै अन्योलग्रस्त रहने अशुभ संकेतहरू देखापरेका छन्।

युवा परिषद्को उपस्थिति सबै प्रदेश र जिल्ला तथा स्थानीय तहमा पुगिसकेको छ। यसरी राज्य सञ्चालनका तह र तप्कामा युवाको उपस्थिति तथा कार्यक्रमले अझ थप बल, तागत, ऊर्जा र क्रियाशीलता अभिवृद्धि भएको छ। जसबाट युवाहरूको नीति निर्माणमा सार्थक सहभागिता, आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा सहभागिता वृद्धि भएको छ। यसका अलावा अझ आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, भौतिक, बौद्धिक विकासका लागि केही थप कार्य गर्नुपर्ने अनुभूति भइरहेको छ।

युवामा नैतिकता, चारित्रिक गुण र अनुशासन विकास गरी परिवर्तित विश्व श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न सक्ने सभ्य, सुशील तथा स्वाभिमानी देशभक्त, पौरखी, सिर्जनशील, लगनशील, प्रतिस्पर्धी, उत्साही, ऊर्जाशील युवा बनाउनका लागि अन्तर्राष्ट्रिय जगत् र राज्य थप बलपूर्वक लाग्नुपर्छ।

राष्ट्रको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा अर्थपूर्ण योगदान दिन सक्ने आधुनिक, न्यायपूर्ण र समृद्ध नेपाल तपाईं हामीले नै निर्माण गर्नुपर्छ। विदेशी शिक्षा, रोजगारी, सीप, आय, सेवा, सुविधा, अवसरप्रति लगाव बढ्दै गइरहेको वर्तमान परिप्रेक्षमा राज्यका नीति, नियम, निर्देशन, निर्णय, आयोजना, कार्यक्रमहरू सबै त्यति प्रभावकारी सिद्ध भएका छैनन्। विश्वमा भइरहेको आर्थिक वृद्धि तथा विकासको प्रतिस्पर्धात्मक तुलनामा हामी धेरै पछिको स्तरमा छौं। हामीसँग भएका सीमित स्रोत साधनको उपयोग हुन सकेको छैन। युग सुहाउँदो आधुनिक, विकसित प्रविधि हामीसँग छैन, यो यथार्थ हो।

हामीसँग युवा जनशक्ति उपयोग गर्न सक्ने उद्योगधन्दा, कलकारखाना छैनन्। प्राविधिक, सीपमूलक, आयमूलक एवं व्यावहारिक शिक्षामा जोड दिइएको छैन। अत्याधुनिक पाठशाला एवं अध्ययन अनुसन्धानका लागि प्रयोगशालाहरू छैनन्। विश्वविद्यालयहरूमा गुणस्तरीय युग सुहाउँदो शिक्षा छैन। राजनीतिक परिवर्तन ल्याउनका लागि आफ्नो बलिदान दिने युवाहरूलाई राजनीतिक क्षेत्रमा ठाउँ खाली छैन। राजनीतिक परिवर्तनसँगसँगै युवाहरूको सहभागिता, क्रियाशीलता बढ्दै जानुपर्नेमा झन्‌झन् कमजोर भइरहेको छ।

राजनीतिक पार्टीहरूमा विचार, क्षमता र सक्रियतालाई भन्दा पनि पालो पर्खने संस्कारको विकास भइरहेको छ।  विश्वका हरेक परिवर्तनमा युवाको महत्त्वपूर्ण योगदान हुन्छ। राज्यको उदयसँगै राष्ट्र निर्माण तथा समाजको आर्थिक, सामाजिक तथा राजनीतिक विकासमा पनि युवाको भूमिका सधैं अग्रणी रहँदै आएको छ।

युवा नै परिवर्तनका वाहक हुन् र समाजलाई नेतृत्व दिने शक्ति हुन्। नेपालमा सानाठूला सबै आन्दोलनमा युवाको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। राणा शासनकालको अन्त्य गर्दा होस् या २०४६ र २०६३ सालको जनआन्दोलन, यस्ता युगान्तकारी आन्दोलनहरूमा युवाको महत्त्वपूर्ण सहभागिता थियो। २००७ साल र २०४६ सालको आन्दोलनबाट परिवर्तन त भयो तर आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक परिवर्तन संस्थागत हुन नसक्दा आज नेपालको विकासको गति सुस्त छ।

हामीसँगै राजनीतिक परिवर्तन भएका चीन र भारत तीव्र गतिमा आर्थिक र सामाजिक विकासतिर लम्किँदा हामी भने कछुवाको गतिमा पनि हिँड्न सकेका छैनौं। २००७ सालदेखि अहिलेसम्मका परिवर्तनको मसिनो ढंगले अनुसन्धान र सुक्ष्म विश्लेषण गर्ने हो भने युवाको विगत जति कष्टप्रद थियो, वर्तमान पनि उत्तिकै निसास्सिँदो र भविष्य झनै अन्योलग्रस्त रहने अशुभ संकेतहरू देखापरेका छन्।

विगतमा हामीले उठाएका मुद्दा, माग, नारा र योजना ठीक थिए कि थिएनन् भनेर समीक्षा गर्ने जिम्मेवारी हामी युवाको काँधमा आएको छ।  गैरसरकारी तथा निजीक्षेत्रका रोजगारीमा स्थायित्व प्रदान गर्नका लागि न्यूनतम ज्याला सम्बन्धीका विषयवस्तु समेटिएर कार्यान्वयन गर्नु आवश्यक छ। नागरिकबिनाको राज्य कल्पना गर्न सकिँदैन। तसर्थ मुलुकका नागरिकलाई राज्यले कृषि, व्यवसाय तथा स्वरोजगारमूलक उद्यमशीलतामा बढी जोड दिनुका साथै अर्थव्यवस्थामा सरकारले नियमनकारी भूमिका खेल्नु जरूरी छ।

सार्वजनिक निजी साझेदारीमा युवाहरूको सहभागितामा जोड दिइनुपर्छ। राज्यबाट स्वरोजगारका लागि प्रदान गरिने अनुदान, प्रशिक्षण, तालिमलगायत सीप विकासका कार्यक्रममा एकरूपता ल्याई एकीकृत ढङ्गले कुनै एक निकाय तथा युवाका लागि स्थापना गरिएको सरकारी संस्था राष्ट्रिय युवा परिषद्‌मार्फत अधिकार प्रत्याभूत गरी प्रभावकारी ढंगले प्रदान गर्ने व्यवस्था गरिनुपर्छ।

राज्यबाट बेराजगार भत्ताभन्दा रोजगार सिर्जना र स्वरोजगारका लागि सहयोग गरिनुपर्छ। नेपालमा रहेका सम्भावना रहेका खानी उत्खनन, जडीबुटी उत्पादन एवं प्रशोधन, विद्युत् उत्पादन, पर्यटन प्रवर्द्धन र कृषि क्षेत्रमा लगानी गर्नु आवश्यक छ। नेपाली श्रम बजारमा नेपालकै श्रमको उपयोग गराउन सक्नुपर्छ।

संघीयतालाई आत्मसात् गर्दै स्थानीयस्तरमा विभिन्न युवा क्लब र समितिहरू स्थापना गरी खेलकुद, सांस्कृतिक हस्तान्तरण, स्वयंसेवक बनाई सामाजिक विकासका लागि युवाहरूलाई क्रियाशील बनाउनुपर्छ। स्थानीयस्तरमा युवाहरूलाई सामूहीकरण गरी साझा रूपमा कृषि, पर्यटन, व्यापार, व्यवसाय लगायतका सामाजिक कार्यमा सहभागिता बढाउनुपर्छ।

सरकारद्वारा पर्यटकीय क्षेत्र, कृषि क्षेत्र, औद्योगिक क्षेत्रका रूपमा क्षेत्र र स्थानहरू निर्धारण गरी युवाको सक्रियता बढाउनु आवश्यक छ। युवाको सहभागिता र क्रियाशीलताका लागि अब आउने वर्ष राष्ट्रिय युवा वर्ष मनाउनुपर्छ। आज पढेलेखेका युवा उच्च शिक्षाका लागि भनेर अमेरिका, अस्ट्रेलिया ताक्छन्। ग्रामीण क्षेत्रका युवा रोजगारीका लागि अरबका खाडी मुलुक र मलेसिया, युरोपलाई सपना बुनेर दक्षिण कोरियासम्म पुग्छन्।

गत आर्थिक वर्ष मात्रै यसरी विदेशिनेको संख्या झण्डै ८ लाख पुगेको छ। तीमध्ये कतिपय मानव तस्करीको जालोमा फस्छन् र जिउधन दुवै गुमाउँछन्। ऊर्जाशील युवालाई  विदेश पठाउनु हाम्रो हितमा छैन। वैदेशिक रोजगारीबाट आर्जित विदेशी मुद्रा सुविधाभोगी वर्गको मोजमस्तीको साधन भएको छ। रोजगारीमा जाने कसैले बजारमा सिमेन्टको एउटा घर ठड्याएको होला, तर उसको सामाजिक र पारिवारिक जीवन विशृङ्खलित भएको छ, भविष्य असुरक्षित भएको छ।

नेपालमा रेमिट्यान्स बढेकोमा उत्साह मान्ने कि हरेक दिन हजारौं नेपाली रोजगार अथवा अध्ययन गर्न विदेशिएकोमा दुखित हुने? यो प्रश्न अहिले नेपाली अर्थ सामाजिक कोणका हिसाबले सबैभन्दा महत्त्व राख्ने प्रश्न हुन सक्छ। 

विकासको माग गर्ने सशक्त आवाज, विकासलाई कार्यरूप दिने मस्तिष्क, विकासको प्रतिफल उपभोग गर्ने सक्रिय उमेरको जनसंख्याको अनुपस्थितिमा मुलुकको वर्तमान विकास र भविष्यको बाटो दुवै अन्धकारको भूमरीमा छन्। यस प्रवृत्तिलाई नउल्ट्याइ मुलुकको विकासको गफ गर्नु निरर्थक साबित हुने स्पष्ट भइसकेको छ।

झट्ट हेर्दा उत्साहप्रद देखिने यस विषयको अर्को पाटोबाट हेर्दा भने विचारणीय छ। नेपालका युवाहरू विदेश पलायन हुने लर्को झनै बढ्दो छ। यसले गर्दा देशभित्र युवाशक्तिको झन्–झन् अभाव हुन थालेको छ। गाउँहरू रित्तिँदै गएका छन्। गाउँमा विकसित हुँदै गएका कृषि सहकारी, पशुपालन, तरकारी खेतीलगायत कृषि व्यवसाय संकटग्रस्त हुन थालेका छन्। विदेशी मुद्रा शोधनान्तर स्थिति धान्ने ठूलो स्रोत सिद्ध भएको वैदेशिक रोजगारी अब निकै नाजुक राष्ट्रिय समस्या बन्न पुगेको छ।

युवाहरूको विदेश आकर्षण पूरै रोक्न सम्भव नभए पनि बेरोजगारीले गर्दा विदेशिने युवावर्गलाई स्वदेशमै कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा नसोच्ने हो भने यो समस्या आर्थिक हिसाबले मात्र नभई सामाजिक हिसाबले पनि झन् कहालीलाग्दो हुँदै जानेछ।

सक्रिय काम गर्ने उमेर, जाँगर र सीपयुक्त जनशक्तिको अभावमा अब मुलुकले चाहेको वा गर्न खोजेको आर्थिक–सामाजिक विकासको सम्भावना दिनानुदिन क्षीण हुँदै गएको छ।

जनशक्तिको अभावमा विकास निर्माणका आयोजना एवं औद्योगिकीकरणका लागि जनशक्ति नपाइने, श्रमबजारमा आपूर्ति कम भएका कारण बढ्ने ज्यालादरले उत्पादन र आयोजना कार्यान्वयन लागत बढाउने अनि विदेशबाट पठाएको रेमिट्यान्सले बढाएको उपभोगले आयात मात्रै बढाइरहने आर्थिक दुश्चक्र सतहमै देखिएका प्रत्यक्ष चुनौतीहरू हुन्। त्यसैले रेमिट्यान्स बढेकोमा मात्र खुसी हुन सक्ने स्थिति छैन।

विकासको माग गर्ने सशक्त आवाज, विकासलाई कार्यरूप दिने मस्तिष्क, विकासको प्रतिफल उपभोग गर्ने सक्रिय उमेरको जनसंख्याको अनुपस्थितिमा मुलुकको वर्तमान विकास र भविष्यको बाटो दुवै अन्धकारको भूमरीमा छन्। यस प्रवृत्तिलाई नउल्ट्याइ मुलुकको विकासको गफ गर्नु निरर्थक साबित हुने स्पष्ट भइसकेको छ। अतः रेमिट्यान्सले मात्र देशलाई सधैं धान्न सकिँदैन भन्ने हेक्का हामीले राख्नुपर्छ।

अन्त्यमा, सामाजिक क्षेत्रमा समेत क्रियाशील युवालाई प्रोत्साहित गरी उनीहरूको क्षमतालाई अभिवृद्धि गर्नुपर्छ। विभेदरहित समाजको निर्माण गरी युवाहरूको सबै क्षेत्रमा सम्मानजनक सहभागिता, सामाजिक सुरक्षा, राज्यद्वारा रोजगार सिर्जना, स्वरोजगारका लागि आवश्यक सहयोग, संस्कृति र पर्यटन प्रवर्द्धनमा अत्यन्तै जोड दिनुपर्छ।

(शाही नेपाल सरकार राष्ट्रिय युवा परिषद्‌का कार्यकारी बोर्ड सदस्य हुन्)

Previous Post

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

Next Post

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

Next Post

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In