दार्चुलाः दार्चुलामा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीबीच स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा तालमेल हुने भएको छ। जिल्लामा प्रगतिशील बामपन्थीबीच पूरै प्यानलमा सहमति गरेर चुनावी तालमेल गरेका हुन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा चैत ५ र सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा चैत ८ गते स्ववियु निर्वाचन हुँदै छ। दुई विद्यार्थी संगठन र पार्टीका नेताहरूको उपस्थितिमा स्ववियुमा सहकार्य गरेर जाने विषयमा लिखित सहमति भएको हो।
विद्यार्थी संगठनले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ६ वटा क्याम्पसमा प्यानलसहित उम्मेदवारी दिने गरी सहमति गरेका छन्। जसअनुसार ४ वटा क्याम्पसमा एमालेनिकट अखिल र २ वटा क्याम्पसमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले सभापति लिनेछन्।
अखिलले दार्चुला बहुमुखी क्याम्पस खलंगा, कृष्ण स्नातक क्याम्पस लाली, शंकरपुर क्याम्पस पस्ती र राष्ट्रिय क्याम्पस दत्तु तथा अखिल क्रान्तिकारीले गोकुलेश्वर बहुमुखी क्याम्पस र लटिनाथ क्याम्पसमा नेतृत्व लिने सहमति भएको हो।
प्रतिक्रिया