काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संक्रमणकालीन न्याय ढिलो गराउन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) जिम्मेवार भएको आरोप लगाउनुभएको भएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘हामीले विगत १५–१६ वर्षदेखि संक्रमणकालीन न्यायका निम्ति आवाज उठाउँदै आएका छौं । हामी द्वन्द्वको पक्ष होइनौं । यसमा कांग्रेस र माओवादीले किन ढिलाइ गरिरहेका छन् ? मैले बुझ्न सकेको छैन । सर्वोच्च अदालतले संक्रमण न्याय ढिलो भयो भन्दैमा पीडितलाई न्यायबाट वञ्चित गर्न मिल्दैन भन्ने महत्त्वपूर्ण सिद्धान्त स्थापित गरेको छ । अब नियमित न्यायिक प्रक्रियाबाट भए पनि द्वन्द्वपीडितलाई न्याय दिलाउने ढोका खोलेको छ,।’
केपी शर्मा ओलीको सरकार विस्थापित गरेपछि शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायलाई टुंग्याउन नचाहेको आरोप पनि उहाँले लगाउनुभयो ।
उहाँले सर्वोच्च अदालतमा रिट दर्ता गर्न खोज्ने नेकपा एमालेका कार्यकर्ता नभएर नेपाली कांग्रेसकै नेताहरू भएको पनि बताउनुभयो । ज्ञवालीले भन्नुभयो, ‘प्रचण्डविरुद्ध मुद्दा हाल्ने नेपाली कांग्रेसका महासमिति सदस्यका साथीहरू हुन् । उहाँहरूको निहत्था परिवार वा आफन्त मारिएको पीडा होला । अब एमालेलाई दोष लगाउने माओवादीको जय होस् न त । कांग्रेसले ३२ सिटको पार्टीलाई १३२ सिटको बनाइदियोस् न त ।’
प्रधानमन्त्री प्रचण्डविरुद्ध कोही पनि एक नभएको ज्ञवालीले दाबी गर्नुभयो । एमाले उपमहासचिव ज्ञवालीले जघन्य अपराधका घटनालाई उन्मुक्ति दिन खोजिए पीडित, कानुन र अन्तर्राष्ट्रिय क्षेत्रले नमान्ने जिकिर पनि गर्नुभयो । छिमेकी संवेदनशीलतामा नेपाल गम्भीर हुन नसकेको भन्दै उहाँले सरकारको आलोचना पनि गर्नुभयो ।
प्रतिक्रिया