धनगढीः छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप चैतको दोस्रो सातादेखि आयोजना हुने भएको छ।
आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले शनिबार धनगढीमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको मिति सार्वजनीक गरेको हो। क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको छैटौं संस्करण चैत ९ गतेदेखि १८ गतेसम्म धनगढी रंगशालामा हुने बताएका हुन्। साथै उनले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट प्रतियोगिताका लागि स्विकृति प्राप्त भएको बताए।
मोफसलको सर्वाधिक पुरस्कार राशीको छैटौं संस्करणको प्रतियोगितामा १० टिम सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगितामा ६ ए डिभिजनका क्लब, दुई विदेशी, एक मोफसल र आयोजक गरि जम्मा १० टिमको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ। प्रतियोगिताको विजेताले २१ लाख र उपविजेतालाई १० लाख रुपैयाँ प्रदान गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ तथा विधागत तर्फका उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ समेत प्रदान गरिने आयोजकले बताएको छ। प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उदयीमान खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गर्ने आयोजकले जनाएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले मुख्य प्रायोजकको रुपमा प्रबद्र्धन गरेको सुदूरपश्चिम खप्तड गोल्डकप कैलाली जिल्ला फुटबल संघको समन्वयमा हुन लागेको हो। सुदूरपश्चिम क्षेत्रमा फुटबल खेलको विकास र प्रबद्र्धन गर्नका लागि स्थापना भएको सुदूरपश्चिम ११ स्पोर्टस क्लबले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ।
प्रतिक्रिया