धनगढीः मन्त्रालय बाँडफाँडको टुङ्गो नलाग्दा सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत लिन ढिलाइ भएको छ। गठबन्धनमा रहेका अन्य दल विश्वासको मत दिन तयार भए पनि माओवादी केन्द्रले पहिले शक्ति बाडफाँटमा सहमति खोजेको छ।
काँग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले माओवादीलाई सहमत गराएर फागुन २१ गतेभित्र विश्वासको मत लिने तयारी थालेका छन्। तर मन्त्रालयको भागबन्डा मिलाउन भने माओवादीले चाहेका मन्त्रालय काँग्रेसले दिन तयार हुनुपर्ने देखिएको छ।
विश्वासको मत लिन नसकेपछि एमालेका राजेन्द्रसिंह रावलको सरकार गत माघ २६ गते ढलेसँगै ठुलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका काँङ्ग्रेसका कमलबहादुर शाहले फागुन २५ गतेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ। शाहलाई विश्वासको मत दिन गठबन्धनमा रहेका काङ्ग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी तयार छन्। तर,माओवादी केन्द्रले भने शीर्ष नेतृत्वको निर्णय पर्खेको छ। यता, मुख्यमन्त्री शाह माओवादी सहभागी नभए पनि फागुन २१ भित्रै विश्वासको मत लिने र गठबन्धन रहका दलका शीर्ष नेताको निर्णयअनुसार पछि पद बाँडफाँट गर्ने मुडमा देखिएका छन्।
i
‘फागुन २१ गते अगाडि नै विश्वासको मत लिने तयारी छ,’ उनले भने, ‘पछि राष्ट्रपति निर्वाचन पनि छ त्योभन्दा अगाडि विश्वासको मत लिने विषयमा सबै दलहरूसँग छलफल भइरहेको छ।’
यसअघि एमाले नेतृत्वको सरकार ढालेको नागरिक उन्मुक्ति पार्टी भने मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने तयारीमा लागेको बुझिएको छ। तर नागरिक उन्मुक्तिले यो विषयमा आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन।
प्रतिक्रिया