काठमाडौँः गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमा उम्मेदवार हुने तयारीमा छन्।
उनी बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने योजनामा रहेको बताइन्छ। बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जसपा नेपालका रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर अध्यक्ष यादवले सो क्षेत्रबाट उपनिर्वाचनमा आफू उम्मेदवार बन्ने तयारी गरेको स्रोत बताउँछ।
अध्यक्ष यादव सप्तरी–२ बाट चुनाव हारेका हुन्। उनी जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएका थिए। आठ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने निश्चित भएपछि उपेन्द्र यादव जनकपुर पुगेर त्यहाँका नेताहरूसँग यस विषयमा छलफल गरेका छन्। उनले नेताहरूलाई आन्तरिक रूपमा सो क्षेत्रको वस्तुस्थिति बुझ्न लगाइसकेका छन्।
नेताहरू बारा गएर आन्तरिक रूपमा त्यहाँको वस्तुस्थितिको अध्ययन गर्न थालेका छन्।जनकपुरबाट बारा–२ मा पुगेका जसपाका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले अध्यक्ष उपेन्द्र यादवलाई स्वागत गर्न बाराका जनता आतुर रहेको बताए। विगतमा अध्यक्ष उपेन्द्र यादवको स्वकीय सचिवको रूपमा काम गरिसकेका नेता योगेन्द्र राय यादव बारा–२ को वस्तुस्थिति बुझ्न सोमबार नै त्यहाँ पुगेका हुन्।
विभिन्न व्यक्तिलाई भेट्दै उनले क्षेत्रको अवस्थाबारे अध्ययन गरिरहेका छन् । सो क्षेत्रका सांसद रामसहाय यादव उपराष्ट्रपति बनेपछि प्रतिनिधिसभा सदस्यमा रिक्त हुने सिटका लागि उपनिर्वाचन गराउनुपर्ने हुन्छ। उपचुनावमा पार्टीका अध्यक्ष उपेन्द्र यादव नै उम्मेदवार बन्ने चर्चा जिल्लाभर फैलिएको बताउँदै उनले अध्यक्ष यादव बारा–२ बाट चुनाव लडेको अवस्थामा अत्यधिक मतले जिताएर पठाउने दाबी गरे।
प्रतिक्रिया