काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन व्युँताउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।
प्रधानमन्त्री मात्रै बन्ने लोभ र लालसा भएको भए एमालेसँगैको गठबन्धनमा पनि प्रचण्डलाई उक्त अवसर रहेको उनले उल्लेख गरे। ‘प्रधानमन्त्री मात्रै हुने लालसा भएको भए एमालेसँगको गठबन्धन छोड्नै पर्ने थिएन,’ थापाले काठमाडौं–४ मा आयोजित कार्यक्रममा मंगलबार भने, ‘यो गठबन्धनमा आउँदा माओवादीले धेरै कुरा पाएको होइन नि देश र संविधानको लागि पुरानै गठबन्धन ब्युताइएको हो।’
एमालेसँग गठबन्धन हुँदा उपराष्ट्रपति माओवादीले पाउने सहमति बनेको थियो। आठ दलीय गठबन्धनमा जसपालाई उपराष्ट्रपति पद दिन प्रचण्ड तयार भएका छन्। पुस १० मा पुरानो गठबन्धनमा राजनीतिक दुर्घटना भएको उनले बताए। दुई महिनापछि सबैले आत्मबोध गरेर पुरानै बाटोमा आएको थापाले बताए।
‘दुई महिनापछि एकै ठाउँमा उभिएका छौं। जे भएको छ, एकदमै ठीक भएको छ। यो भन्दा अर्को बाटो जान पाइँदैन्थ्यो,’ थापाले भने, ‘पुस १० गते बनेको गठबन्धन भत्काउन लुकेर लागेको होइन। अध्याँरोमा लागेको होइन। उज्यालोमा घाम लागेको बेलामा त्यो गठबन्धन भत्काउने प्रयास गरेको हो।’
संसद विघटनको बचाउमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलेपछि गठबन्धन जोगाउने जग तयार भएको थापाको दाबी छ। केन्द्रसँगै सातै प्रदेशमा आठ दलीय गठबन्धनको सरकार हुने उनले बताए। ‘अब काम गर्न सकेनौं भन्ने कसैलाई दोष दिएर उम्कन पाउँदैनौं। काम र परिणाम दिनुपर्छ,’ थापाले भने।
प्रतिक्रिया